छाला नपाउँदा मादल बनाउन समस्या
तनहुँ | कात्तिक ३०, २०८१
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो ।
६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गर्नुभएको हो । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उहाँले मादल बनाउन सिक्नुभएको हो ।
पुख्र्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताउनुभयो । तर केही समययता मादल बनाउन छाला नपाउँदा उहाँलाई समस्या हुन थालेको छ ।
“बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ”, उहाँले भन्नुभयो, “अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।”
नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।” उहाँले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आउनुभएको छ । त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “म यो पेसाबाट सन्तुुष्ट नै छु । तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ ।” पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उहाँको भनाइ छ । यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भन्नुभयो, “अहिलेसम्म चलेको यही पेसाबाटै हो । यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन ।”
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

